कन्टिर–बाबू आज बिहानदेखि नै बडो भावुक र गम्भीर मुद्रामा छन् । यसो हुनुपर्ने कारण भने सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको एक भिडियोको प्रसङ्ग हो ।
त्यस भिडियोको सार तान्ने प्रयत्न गर्ने हो भने त्यसमा गम्भीर रङभेदको भाव देखिने कन्टिर–बाबूको ठहर छ । भिडियोमा झा थरका एक जना प्रहरी अधिकृतप्रति भेदभावयुक्त शाब्दिक प्रहार गरिएको देख्न–सुन्न सकिन्छ ।
भिडियोमा नाम, अनुहार र परिचय नखुलेका केही महिला–पुरूषले ती प्रहरीलाई, ‘झाजी’ भन्दै आफ्नै घरतिर गएर उतै खेतीपाती गर्ने सल्लाह दिइएको छ । तिनैमध्येका केहीले ती झाजीको सरूवा नगराई नछोड्ने समेत भनेका छन् ।
भएको संवाद यस्तो छ –
‘तपाईको नाम के ?’
‘मणिकान्त झा’
‘ए ! जातैले यो मान्छे मधेसतिरको लाग्छ । उतै सरुवा गरिदिन्छौँ, खेतीपाती गर्न सजिलो हुन्छ ।’
स्रोतले कन्टिर–बाबूलाई बताए अनुसार ती प्रहरी अधिकृतले लाइसेन्स मागेको सन्दर्भ रहेछ, यो संवादको पृष्ठभूमि ।
सन्दर्भ चाहे जे होस्, कन्टिर–बाबू नाजायज, गम्भीर सामाजिक अपराध मान्छन्, यसप्रकारका अभिव्यक्ति र प्रस्तुतिलाई ।
कन्टिर–बाबूको प्रश्न छ– यस्तो साम्प्रदायिक सद्भाव बिथोल्ने खालको भाव अभिव्यक्त गर्नेहरू खासमा को हुन् ? यो देशको सिस्टम चलाउनेहरू हुन् ? वा सिस्टम चलाउनेका मतियारहरू हुन् ?
त्यसो त भिडियोमा पूरै कुरा र सन्दर्भ खुलेको छैन । हुनसक्छ ती प्रहरी अधिृतको गल्ती होस् । त्यसो हो भने त त्यस्तालाई नियमानुसार कारबाही प्रक्रिया पो अगाडि बढाउनु परयो त । प्रहरीबाट गल्ती भएको छ भने पनि जात र समुदायमाथि नै प्रहार हुने गरी प्रदर्शित अपमानजनक प्रवृत्ति क्षम्य हुन सक्दैन ।
कन्टिर–बाबू छक्क पर्दै सोध्छन्– आखिर हामी नेपाली किन संयम गुमाउँछौँ ? किन सामाजिक सद्भावको अवधारणा स्वीकार गर्न खोज्दैनौँ ? किन जातका आधारमा पूर्वाग्रही धारणा पालिराख्छौँ ?
कन्टिर–बाबू भन्छन्– चाहे जोसुकैबाट भएको होस्, यस्तोखाले विभेदयुक्त अभिव्यक्ति तत्कालै सच्याउनु आवश्यक छ । अन्यत्र पनि फरक समुदायका कर्मचारीलाई फिर्ता जाऊ भनिन्छ भने त्यो प्रवृत्ति गलत हो, निन्दनीय हो ।




















