कन्टिर–बाबू आज बिहान सामाजिक सञ्जालमा घोत्लिँदै थिए । उनको दृष्टि एउटा हिन्दी भाषाको पोस्टमाथि पर्यो –
‘सियासत का बाजाार भी खुब है,
कौन कब रङ बदले पता ही नही !
आप ही का सहारा चरागों को था,
आप ही हवाओ के साथ हो गये ‘!’
यो कसको रचना हो कन्टिर–बाबूलाई थाहा छैन । तर यसले कन्टिर–बाबूलाई बडा प्रभावित गरेको छ । यी पङ्क्ति नेपालको वर्तमान आयाराम–गयाराम राजनीतिसँग ठ्याक्कै मेल खाने कन्टिर–बाबूको ठहर छ ।
कन्टिर–बाबू पनि के कम ? उनी पनि सानोतिनो कवि नै हुन् नि ! उनले माथिका पङ्क्तिको जवाफ दिने प्रयत्न गरेका छन्–
चाहे रङ जितना बदल लो,
चोला जैसा भी धर लो,
एक दिन ऐसा आएगा,
जब साया भी जी चुराएगा !
यो सबै भनिरहँदा कन्टिर–बाबू एउटा शङ्काको लाभ लिन चाहन्छन् । त्यो के भने उल्लिखित हिन्दी पङ्क्तिको सार सबैले बुझ्नसक्ने अनुमानका आधारमा कन्टिर–बाबूले त्यसको अनुवाद भने गरेनन् । डन्ट माइन्ड है !
अनुवाद नगर्नुको महत्त्वपूर्ण कारण हो– हालै भएको मन्त्रिमण्डल पुनर्गठन प्रकरण । यो पुनर्गठन जसरी भएको छ, त्यसबाट आमनेपालीले हिन्दी सिक्नैपर्ने बाध्यता सिर्जना हुन सक्छ है ।
कन्टिर–बाबू अहिले सरकारका बारेमा धेरै टिप्पणी गर्न आवश्यक ठान्दैनन् । सबैलाई थाहा भएको कुरा के दोहोर्याइरहनु ? कन्टिर–बाबूले सुरूदेखि नै भन्दै आएका हुन् त– नाकाबन्दी नाटक थियो । लोकतन्त्रवादी शक्तिलाई सत्ताबाट च्युत गर्ने खेलो थियो ।
चुनावताका एउटाले मधेसीलाई गाली गरेर उग्र राष्ट्रवादको र अर्कोले पहाडीलाई गाली गरेर बहुराष्ट्रवादको नाटक गरेर चुनावी माहोल बनाउने, दुवैले मिली–मिली चुनाव जित्ने रणनीति बनाएकोबारे त कन्टिर–बाबूले कराइ–कराई भनेका थिए । त्यसबेला कसैले पत्याएनन् तर अहिले त प्रमाणित भयो नि !
अनि जुन मुद्दाका लागि जुन हातले जुन संविधान जलायो त्यही हातले त्यही संविधानको रक्षा गर्न प्रतिबद्ध छु भनी शपथ खाँदै तत्कालीन मुद्दा–सुद्दा मारोगोली गरेको दृश्य हेर्दा कम्ती उदेक लागेन कटिर–बाबूलाई !
तर नो चिन्ता, कटिर–बाबूलाई थाहा छ यो अनपेक्षित अवस्था धेरै दिन रहनेवाला छैन । एक दिन जनताले सबका सब रङ चिन्ने नै छन् । त्यसबेला जनताले त्यस्ता छेपाराको विश्वास गर्न पक्कै पनि छोडनेमा कन्टिर–बाबू विश्वस्त छन् ।
koshionline




















