कन्टिर–बाबू आज पनि परेसान छन् । सायद उनको नसिबमा ढुक्कसँग बेफिक्र भएर बस्न लेखेकै छैन ।
यस्तोमा जब उनी किशोर–बाबू को सदावहार गीत ‘मैं जिन्दगीका साथ निभाता चला गया । हर फिक्रको धुएँ में उडाता चला गया,’ सुन्छन्, उनलाई थप औडाहा हुन्छ ।
किशोर–बाबूले कसरी गाउन सकेको होला यो गीत ? नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील दालाई यो गीत बडा मन पथ्र्यो रे । बूढालाई मन पथ्र्यो नि, बाल न बच्चा चल कलकत्ता ।
त्यसो त कन्टिर–बाबूले एकतर्फीमात्र सोचेर हुँदैन, चौतर्फी सोच्नुपर्छ ? त्यही क्रममा उनी सरकार योजनाबद्ध ढङ्गले क्षणिक स्वार्थका लागि चुरिया दोहन र मरुभूमीकरणतर्फ अग्रसर भएको कुरामा विशेष चिन्तित छन् ।
ल हेर्नुहोस्, यता बजेटमार्फत चुरिया दोहनको लफडा सुरू के भएको थियो उता चुरिया संरक्षणका लागि सरकारलाई विशेष दबाब दिनुपर्ने जिम्मेवारी बिर्सेर मधेसकेन्द्रित दल जनता समाजवादीमा औपचारिक विभाजनको रस्साकस्सी सुरु भएछ ।
‘बाउ’ले ‘राम’लाई र ‘राम’ले ‘बाउ’लाई निष्कासनको खेल थालेछन् । भनिन्छ बुद्धिमान मानिसले अर्काको देखेर सिक्छ । एमालेको निष्कासन खेला र त्यसको परिणाम देखेका छैनन् र यिनले ?
निष्कासनको खेलाले तत्कालका लागि एक–अर्कालाई रमाइलो त होला, सन्तुष्टि पनि देला तर दीर्घकालमा रूपमा कसलाई फाइदा हुन्छ ? कन्टिर–बाबूको प्रश्न छ– सोचेका छन् यिनले ?
जानाजान मधेस मुद्दा सङ्कटमा पारेर केको कारबाही हो एकअर्कालाई ? भाइ फुटे गवाँरलाई लुट्न सजिलो हुने मुहावरा त जगजाहेरै छ । आफूहरू नै लडे अर्काले थपडी पिट्ने अवसर पाइहाल्छन् नि ! ठिकै छ कोही जुँगामा ताउ लगाउने, कसैले दाँत तिखार्ने ! मतदाताको मनस्थितिसँग के सरोकार ‘ कि यौ सरकार ?
अब हेर्नुस्, यता एकातिर मधेसी शक्ति तोडफोड प्रकरण बल्झेकै थियो, उता कुनचाहिँले दिनदहाडै हाम्रा रजिन्दर–बाबूलाई ज्यान मार्ने धम्की चिपकाइदिए । अहिले त्यस्तो धम्कीवाला भिडियो बड्डे चर्चामा छ । अरे यो अलग कुरा हो कि यस्ता धम्की–वम्कीले केही डराउने, मान्नेवाला छैन । अरे, कसैको ज्यान थोडबे कोनो सिकीको पौती (गहुँको छ्वालीबाट बनाइएको डब्बाजस्तो सानो भाँडो)मा छ, कि पनौती खोल्यो आ ज्यानलाई मुट्ठीमा बन्द गरिहाल्यो !
तर चिन्ता–फिकिरको कुरा त हो यो । कसैले कसैलाई खुलेआम ज्यान मार्ने धम्की दिइरहेको छ ‘ दालमा केही कालो त अवश्य छ ‘!
अब तपाई नै भन्नुहोस् कन्टिर–बाबू फिक्रमन्द हुनुपरेन ? उनको चिन्ता स्वाभाविक होइन ? अनि यस्तोमा कन्टिर–बाबू किशोर–बाबूको यो गीत कसरी गुनगुनाउन सक्छन्– मैं जिन्दगीका साथ निभाता चला गया ‘ !




















