आज जानकी नवमी अर्थात् सीता जयन्ती । मिथिला नरेश शिरध्वज जनक पालित पुत्री सीता (जानकी) प्रकट भएको दिन । यसै आधारमा कतिपयले आजको दिनलाई जानकी प्राकट्य दिवस पनि भन्छन् ।
हरेक वर्ष कन्टिर–बाबू आजको दिनलाई बडो महत्त्वका साथ हेर्छन् । तर के गर्नु ? कन्टिर–बाबूले मात्र महत्त्व दिएर भएन, नेपाल सरकारलगायत सम्बद्ध सरोकारवाला सबैले महत्त्व दिए पो !
प्राप्त प्रमाणहरूअनुसार जानकी नेपालकी छोरी (चेली) हुन् । तर नेपाल सरकारले जानकीलाई त्यति महत्त्व दिएको पाइन्न । कन्टिर–बाबूको मनमा प्रश्न उब्जिन्छ– किन होला ?
कन्टिर–बाबूसँग यसको उत्तर छैन, भए त किन सोध्थे ? नेपाल र नेपालीले त्रेता युगका मिथकीय पात्र रामलाई भगवान्का रूपमा निकै मान्छन् । आदर, सम्मान, पूजा गर्छन् । तर त्यस अनुपातमा उनै रामकी अर्धाङ्गिनी जानकीले पाउने मान–सम्मान निकै कम छ भन्ने कन्टिर–बाबूको निष्कर्ष हो ।
नेपालमा अनेक ठाउँमा राम मन्दिर छन् । तर जानकी या सीताको मन्दिरमात्र अपवादका रूपमा छन् । कन्टिर–बाबूले नेपालमा जनकपुरको जानकी मन्दिरबाहेक अन्य ठाउँमा जानकी वा सीताको नाममा एकल मन्दिर कतै देखेका छैनन् । छ भने पनि रामको नामसँग जोडिएर राम–जानकी मन्दिर छन् ।
नेपालमा रामको जन्मदिनलाई रामनवमी पर्वका रूपमा सदा–सर्वदादेखि मनाउने चलन चलिआएको छ । तर नेपाली चेली जानकीको जन्मदिनलाई जानकी नवमी अथवा जानकी जयन्तीलाई पर्व मान्न खासै मन गरिएको छैन । किन ?
कन्टिर–बाबू आजको दिनलाई प्रत्येक नेपालीले गौरवबोध दिवसका रूपमा मनाउनुपर्ने र सरकारी स्तरबाटै महत्त्व प्रदान गरी आवश्यक सहजीकरण हुनुपर्ने आग्रह राख्छन् ।
कन्टिर–बाबूलाई त कहिलेकाँही के पनि लाग्छ भने जानकीलाई खासै महत्त्व नदिने कुरा नेपाली समाजको पारम्परिक मूल्य–मान्यतासँग पनि जोडिएको छ । नेपाली समाजमा पुरातन समयदेखि नै महिला र पुरूषमा लैङ्गिक विभेद हुँदै आएको छ, सम्भवतः यसैबाट प्रताडित भएकी हुन् जानकी ।
कन्टिर–बाबूले बुझ्न बाँकी रहेको अर्को कुरा पनि छ । राम जन्मभूमि भनेर चितवनको ठोरी, अयोध्यापुरीलाई त्यत्रो महत्त्व दिने हाम्रा ओल्बाले जानकी जन्मभूमिलाई चाहिँ किन महत्त्व नदिएका होलान ? अरे ठोरी वा अयोध्याका बारेमा त विवाद छ तर जनकपुरका बारेमा त कुनै विवाद छैन नि !
कन्टिर–बाबू भन्छन्– यदि रामायणको वर्णनलाई सत्य मान्ने हो भने अयोध्या जति महत्त्वपूर्ण छ, जानकी जन्म (प्रकट) भूमि जनकपुर पनि त्यत्तिकै महत्त्वपूर्ण छ । तर नेपालको सरकारलाई बाल मतलब छैन ! भारतमा अयोध्याको विषय पार्टीहरूका लागि चुनाव जित्ने वा हार्ने मुद्दा बन्छ तर नेपालमा जानकी भूमिको कसैले चर्चै गर्दैनन् त ‘ किन होला ?
अरे यार इन्डोनेसियाले बालीलाई त अन्तर्राष्ट्रिय बजारमा बेचेको छ । हामीले अरू केही गर्न नसके पनि कम से कम जनकपुरलाई आध्यात्मिक पर्यटन केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गरौँ न !
जानकी जयन्तीका अवसरमा सबैलाई शुभकामना !
koshionline




















