कन्टिर–बाबूलाई सुरुमै थाहा थियो– बिरालोलाई जतिसुकै बाक्लो धुस्साले छोपछाप पारे पनि मुसा छेउछाउमा भएको गन्ध थाहा पाउनासाथ म्याउँ गरिहाल्छ । अन्ततः त्यही भयो जसको अनुमान कन्टिर–बाबूले गरेका थिए ।
हाम्रा महान् ओल्बा पुनः यस देशको मुखिया बन्ने अनुमान कन्टिर–बाबूको थियो, त्यही नै भयो । यस पटकको प्रयासमा पनि भ्यागुताको धार्नी पुग्दैन भन्ने लख कन्टिर–बाबूले एक दिनअघि नै काटिसकेका थिए ।
कन्टिर–बाबूलाई कसैप्रति आग्रह, दुराग्रह र पूर्वाग्रह छैन । त्यसैले उनी कसैलाई यश वा अपयशको भागी बनाउन चाहँदैनन् । उनी त परिस्थितिसापेक्ष सदैव सत्यको पक्षमा लाग्ने व्यक्ति हुन् ।
अरे यार, ओल्बाको विपक्षमा बहुमत पुगेन । किन पुगेन ? संसदीय अङ्कगणित र अवस्था जगजाहेरै छ । यसबेला जसलाई जेसुकै लागोस् तर कन्टिर–बाबू एउटा कुरामा क्लियर छन्– यो सबै प्लानअनुसार भएको काम हो । म कुटेजस्तो गर्छु, तँ रोए जस्तो गर भने झैँ सबै पूर्वनियोजित खेलो हो ।
जस–जसको सेटिङ जहाँ छ, त्यसले परेको बेला त्यहीँको नुनको सोझो गर्ने न हुन् आखिर । यस सन्दर्भमा कन्टिर–बाबूलाई हालसालै एउटा उखान फुरेको छ । त्यो के भने आखिर जुन रुखको बोक्रा हो त्यही रुखमा टाँसिन्छ । जुन घरको बिरालो हो त्यही घरमा फर्किन्छ ।
कुरो बुझ्नुभयो नि ! खाली जनतालाई भ्रममा राखेका रहेछन्, यी सत्ताका अनुचरहरूले । तर ये पब्लिक है सब जानती है । कसैलाई भ्रम नहोस्, जनताले सब बुझेका छन् ।
कसलाई थाहा छैन, अप्ठेरो परेको बेला विपक्षी र जनताको ध्यान सत्ताको झोलझमेलमा लगाइदिएपछि, लगानी उठानी र कमिसनको भित्री खेल गर्न सजिलो हुन्छ भन्ने । स्थानीय निर्वाचन भएको चार वर्ष नाघ्यो । सङ्घीय निर्वाचन भएको पनि साढे तीन वर्ष भइसक्यो । त्यो बेला चुनावमा गरेको लगानीको बक्यौता उठाउने समय नै अब कति बाँकी छ र !
यसबाहेक विगतको नाकाबन्दी, मानव–साङ्लो, अङ्गीकृत नागरिकता, चुच्चे–नक्सा, दलहरूको नामबाट ‘मधेस’ विस्थापन र उग्र राष्ट्रियताको हौवा सबै एक–अर्कासँग सम्बन्धित थिए र छन् भन्ने कुरा वर्तमानले पुनः प्रमाणित गरेको छ ।
कन्टिर–बाबूको स्पष्ट मत छ– हिजो सुरू भएको मिलिभगत आज पनि जारी छ र अझै केही समय जारी रहन्छ ।
koshionline




















