बारा – बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
फेटा गाउँपालिका ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट खटीका प्रहरीले शङ्का लागि चेक जाँच गर्दा मोटरसाइकलमा सवार २ भारतीय नागरिकलाई नगदसहित पक्राउ गरेको हो ।
शनिबार पक्राउ परेको उनीहरुलाई आज (आइतबार) सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकलमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीयका एक युवक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।
कपडाको झोलामा लुकाइछिपाइ १ हजारको १ हजार ९२३ थान, ५०० को ५ हजार ७०४ थान, १०० को १ हजार २०० थान र ५० को १०० थान नेपाली रुपैयाँसहित नेपाल आइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाण्डौँमा पठाउने तयारी भई रहेको छ ।




















