काठमाण्डौं – सर्वोच्च अदालतले रिहा गरेलगत्तै प्रतिबन्धित नेकपाका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता बाँस्तोला ‘कञ्चन’ लाई सर्वोच्चले विहीबार रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बास्तोलाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाईने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेका हुन् ।
बिहीबार जारी बन्दी प्रत्यक्षीकरण आदेशमा बास्तोलामाथि लगाइएको आरोपमा वस्तुनिष्ठ आधार प्रमाण नभएको, पक्राउको पृष्ठभूमि हेर्दा फरक विचार र आस्था राखकै कारणबाट पक्राउ गरिएको ठहर गरिएको छ । तर अदालतबाट बन्दीप्रत्यक्षीकरण आदेश जारी भएर रिहा भएलगत्तै उनलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । यसअघि ओली सरकारका मन्त्री मणि थापाले उनलाई जेलमै गएर भेटेका थिए ।


