एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेरसले चुनावलाई उल्ट्याउनु स्वीकार्य नभएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका सिकाउनुपर्ने बताएका छन् ।
म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न उनले आह्वान गरेका छन्। पश्चिमा देशहरूले ‘कू’को निन्दा गरेका छन् । तर समान धारणा राखेर वक्तब्य निकाल्न चीनले भने अस्वीकार गरेको छ ।
यो विषयमा सुरक्षा परिषद्मा एकता हुने गुटेरसले आशा व्यक्त गरेका बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ । यद्यपी परिषदको बैठकमा ‘कू’को निन्दा हुने कुनै पनि शब्द चीनले रोक्ने ठानिएको छ । चिनले भिटो अधिकार प्रयोग गर्नसक्ने सम्भाव्यतालाई पनि नकार्न सकिन्न ।
गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोपमा म्यानमारको सेनाले नेतृ आङ सान सूकी र राष्ट्रपति विन मिनलाई हिरासतमा राखेको छ । म्यानमारको प्रहरीले सूकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन् । एक वर्षका लागि सङ्कटकाल लागु गरेको सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ।


