अर्घाखाँची – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद पुनःर्स्थापना नभए देश गृहयुद्धमा जाने खतरा रहेको बताएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कमा आज (मंगलबार) प्रेस नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष डा.भट्टराईले गणतन्त्रको रक्षाका लागि दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बेला आएको भन्दै नत्र देशलाई गृहयुद्धमा जाने चेतावनी दिएका हुन् । उनले देशलाई गृहयुद्वबाट बचाउन र सरकारको प्रतिगमनका विरुद्ध पनि आन्दोलनको विकल्प नभएको बताए ।
डा.भट्टराईले संविधानका चारवटा खुट्टा गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समावेशिता रहेको भन्दै एउटा मात्रै भाँचिएपनि संबिधानको अर्थ नहुने जिकिर गरे ।
डा.भट्टराईले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदेला भनेर पर्खेर बस्नु उपयुत्त नहुने भन्दै प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस, दाहाल–नेपाल नेतृत्वको नेकपासँग संयुक्त आन्दोलनको तयारी भैरहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकारहरु संग डा.भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान ओलीको समुह सक्रिय भएर लागेको आरोप लगाउदै बैसाखमा कुने पनि हालतमा निर्बाचन नहुने ठोकुवा गरे ।




















