एजेन्सी – जापानमा आफ्नो आमाको मृत्त शरिर १० बर्ष सम्म फ्रिजमा लुकाएर राख्ने १ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसी रहेको कोठा छोड्नुपर्ने डरले आमाको शव अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको ति महिलले प्रहरीलाई बताएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रहरीले ४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।
महिलाको दावी अनुसार त्यो मृत शरीर १ दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको हो ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार आमालाई १० वर्ष पहिले मरेको भेटेपछि उनले लासलाई फ्रिजभित्र लुकाइन् किनकि उनले यो घटना बाहिर ल्याएर आफू बसिरहेको घर छोड्न चाहँदैनथिन् ।
ती महिला मृत्यु हुदा ६० वर्ष उमेर रहेको प्रहरीले अनुमान गरेको छ । समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।
शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।




















