एजेन्सी – युरोपेली संघ ‘ईयू’ले युरोपमा बनेको कोरोना भाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपका नागरिकको सुरक्षा र संरक्षणका लागि यस्तो निर्णय गरिएको ईयूले जनाएको छ ।
प्रतिबन्धले बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० भन्दा बढी मुलुकहरू प्रभावित हुनेछन् । गरिब मुलुकहरू भने प्रतिबन्धमा परेका छैनन् ।
ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको जनाएको छ । तर विश्व स्वास्थ्य सङ्गठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन् ।
ईयूको खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवाद भएको र खोप वितरण सुस्त भएको आरोप लागेको समयमा पछिल्लो निर्णय आएको हो । नयाँ नियम अनुसार खोप उत्पादकहरूले ‘ईयू’ भन्दा बाहिर खोप वितरण गर्नका लागि अनुमति लिनुपर्नेछ ।
यसैबीच ‘ईयू’ले अक्सफोर्ड विश्वविद्यालयले बनाएको एस्ट्राजेनेकाको कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको छ । युरोपियन औषधि एजेन्सीले एस्ट्राजेनेकाको खोप ६० प्रतिशत सफल भएको ठहर गर्दै प्रयोग अनुमति दिएको हो । युरोपियन युनियनले माग गरे बमोजिम खोप उपलब्ध गराउने सम्झौता एस्ट्राजेनेकाले तोडेको भन्दै युरोपभर विरोध हुँदै आएको छ ।
युरोपियन युनियनले एस्ट्राजेनेकासँग ४० करोड डोज खोप खरिद सम्झौता गरेको छ । तर युरोपमा रहेको खोप उत्पादन उद्योगमा समस्या आएको भन्दै सम्झौता अनुसारको खोप दिन नसकिने एस्ट्राजेनेकाले बताउँदै आएको छ ।




















