काठमाण्डौं – राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ताले प्रधानमन्त्रीलाई ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् ।
संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रतिनिसभा विघटनमा परेको रिटउपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा शुक्रबार उनले प्रश्न गरे । ‘किन चाहियो जनादेश ? ५ वर्ष संविधानमा लेखेकै छ, प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले ?’
‘आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तराष्ट्रिय अभ्यासको कुरा गर्ने ? प्रश्न राख्दै बिडारीले संविधानका सबै धारा समान रहेको र कुनै पनि धारा देखाउनकालागिमात्र नराखिएको जिकिर गरे । उनले भने, ‘सबै धाराका विशेषशता आ–आफ्नै छन् ।’
उनले थप प्रश्न गरे, ‘संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने ?’
केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने उनको तर्क थियो ।
ओलीप्रति लक्षित गर्दै बिडारीले राज्यविरुद्धको अपराध गर्नेका विरुद्ध केही न केही बोल्न ‘इजलासलाइ आग्रह गरे । प्रधानमन्त्रीले अर्को सरकारको विकल्प छैन भनेकामा पनि विडारीले आपत्ति जनाए । ‘संसदनै विघटन गरिदिने अनि खै विकल्प भन्ने ? रुख काटिदिने अनि खै फूल फुल्या भन्ने ?
इजलासमै संसदको सामना गर्न नसक्ने प्रधानमन्त्री हुतिहारा भन्दै विडारीले भने, ‘पार्टी चलाउन पनि असफल, सरकार चलाउन पनि असफल, संसद बोलाएर देखाउन सक्नुपर्यो नि । यति हिम्मत नभएको हुतिहारा प्रधानमन्त्री ।’
उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस्ता शब्द प्रयोग नगर्नु भन्दै सचेत गराएका थिए । विडारीले प्रधानमन्त्री असफल भएकाले आफूले उक्त शब्द प्रयोग गरेको प्रतिक्रिया दिए ।




















