परासी – आफ्ना २ छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति २ छोरीलाई विष खुवाएर आफूले पनि विष खाएको प्रहरीले पुष्टी गरेको हो ।
विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो । उपचारका क्रममा तिनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको हो ।
बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा बसेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विष सेवन पश्चात् घरभित्रबाट चिच्चाहटको आवाज आएको सनेुपछि स्थानीय घरको छतबाट कोठामा पुगेर उद्वार गरेका थिए ।
मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन् । घरमा ३ जना मात्र बस्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















