काठमाण्डौं – विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु जाडोयाममा सफल आरोहण गरी विश्व कीर्तिमान गरेका १० नेपाली आरोही राजधानीमा भब्य स्वागत गएको छ ।
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका आरोही समूहलाई आज विहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वागत गरिएको थियो ।
विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल रयालीले तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्मान गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहितको टोलीले पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गरेका हुन् ।
आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।
नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाको मृत्यु भइसकेको छ ।




















