काठमाण्डौं – विभाजित नेकपाको दाहाल–नेपाल पक्षले आज काठमाण्डौंमा जनप्रदर्शन गर्दैछ ।
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन् । उपत्यकाको विभिन्न १० स्थानवाट जुलुस निकालेर रत्नपार्कवाट सभा हुने नेकपाले जनाएको छ ।
त्यसअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसवाट स्थायी समिति सदस्यको नेतृत्वमा जुलुस निस्कने छ ।
रत्नपार्कबाट शुरु हुने मुख्य जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ ।
सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा विघटन पछि दाहाल–नेपाल समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।




















