मोरङ – मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रबिक्रम चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।
चन्द समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
विक गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ ।
श्रेष्ठको घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो । मोरङ बुढीगंगा गाउँपालिका ४ को औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल र अन्य सञ्चार सामाग्रीहरु बरामद गरेको छ ।




















