एजेन्सी – अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् ।
नोभेम्बर ३ मा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।
बाइडेनले जम्मा ३५ शब्दको शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाइडेन अघि अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।
कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको थियो । शपथ समारोहमा १ हजार २०० मानिस स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सहभागि भएका थिए ।
शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका थिए । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले सबै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।




















