काठमाण्डौं – नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ ।
बेलायतबाट केही साता अघि आएका ३ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो ।
हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो ।
आज (सोमबार) ती नमुनाको रिपोर्ट आएको हो । बेलायतबाट आएका २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरूषमा यो भाइरस देखिएको मन्त्रालयले जनाएको छ । यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग उनीहरुको भाइरस मिलेको समेत मन्त्रालयले पुष्टी गरेको छ ।
संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन । केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । नयाँ प्रकारको कोरोना पुष्टि भएपछि सरकारले थप सतकर्ता अपनाउने तयारी गरेको छ ।
बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको ५० भन्दा बढी देशमा पुगिसकेको छ । विगतको भन्दा यो भाइरस ७० गुणा बढी संक्रामक रहेको पुष्टि भएको छ ।




















