काठमाण्डौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी छ ।
संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि आइतबारबाट नियमित सुनुवाइ शुरु भएको हो । आज पनि रिट निवेदकका तर्फवाट बहस भैरहेको छ ।
बहसमा भाग लिँदै अधिवक्ता दीनमणी पोखरेलले पार्टीको विवादमा संसद विघटन गर्न नमिल्ने भन्दै सरकार चलाउन नसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पोखरेलले बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटन राजनीतिक प्रश्न भएकाले अदालत यसमा प्रवेश गर्न मिल्दैन भन्ने गरेको बताउँदै अधिवक्ता पोखरेलले अदालत संसद विघटन राजनीतिक प्रश्न हो भनेर उम्किन नमिल्ने बताए ।
आइतबार निवेदकतर्फका कानुन व्यवसायीहरू सन्तोष भण्डारी, गिरिराज भट्ट, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र सुनिल पोखरेलले बहस गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ जारी छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भैरहेको हो ।




















