काठमाण्डौं – सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ ।
व्यवसायीको आग्रह अनुसार आजदेखि लागुहुने गरी शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।
कोरोनाका कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन हुन लागेको मन्त्रालयले जनाएको हो ।
लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने सरकारको विश्वास छ ।
औद्योगिक व्यवसाय नियमावली अनुसार यो सुबिधा ५८ प्रकारका उद्योगले पाउने छन् । सरकारले बजेटमा कोरोना प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।




















