कोरोना कहरका कारण ६ महिनादेखि नेपाली फिल्म क्षेत्र ठप्प छ । यो अवस्था अझै कहिलेसम्म रहन्छ, टुंगो छैन । फिल्मकर्मी भने धेरै क्षेत्र खुलेकाले निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्न सरकारलाई आग्रह गर्दै आइरहेका छन् । तर, उनीहरुको आवाज सरकारले अहिलेसम्म सुनेको देखिन्न् । सरकारले फिल्म क्षेत्र खोले लकडाउनका कारण रोकिएका र नयाँ निर्माण हुने थुप्रै फिल्म छायाँकनमा जाने तयारी अवस्थामा छन् ।
सरकारले फिल्म क्षेत्र खोल्ने बितिक्कै छायाँकनमा जाने तयारीमा रहेका फिल्ममध्ये एक ‘परदेशी २’ पनि हो । ‘परेदेशी २’ कोरोनाको कारण सुटिङ रोकिएको फिल्म हो । करिव ६० प्रतिशत छायाँकन सकिएपछि रोकिएको यो फिल्मका निर्देशक नारायण रायमाझी हुन् ।
‘सरकारले अनुमति दिने बितिकै फिल्म छायाँकन जाने भनेर हामी पुरै युनिट तयारी अवस्थामा छौ’ निर्देशक रायमाभीले भने– ‘कविर १५ दिन सुटिङ गर्न पाए फिल्म सकिन्थ्यो ।’ सरकारले अनुमति दिए पुरै स्वास्थ्य सुरक्षा अपनाएर फिल्को छायाँकन गर्ने तयारी आफुले गरेको रायमाझीले सुनाए ।
‘हामीले छायाँकन सुरु गर्न पन्ध्र दिन ढिलो गरेछौ’ रायमाझीले थपे ‘सुटिङ सकिएको भए सम्पादनमा कोरोनाले खासै फरक पर्दैन थियो । मज्जाले फिल्म सकाउन पाइन्थ्यो ।’ रमेश विजीको लेखन रहेको फिल्मलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो ।
दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, बर्षा शिवाकोटी, देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय रहने ‘परदेशी २’ विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष कथामा बन्न लागेको हो । ‘परदेशी २’ विसं २०७२ सालमा प्रदर्शनमा आएको हिट फिल्म ‘परदेशी’ को सिक्वेल पनि हो । ‘परदेशी’ यो वर्ष सर्वाधिक कमाउने फिल्म बन्न सफल भएको थियो । नारायण रायमाझीकै निर्माण निर्देशन रहेको फिल्ममा इन्डियन आइडल प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्कालगायतको अभिनय रहेको थियो ।


