भारतको चर्चित टिभी रियालिटी शो बिग बोसको सिजन १४ मा नेपाली ट्रान्स मोडल अञ्जली लामा प्रतिस्पर्धीका रुपमा सहभागी हुने भएका छन् ।
कलर्स टिभीबाट प्रसारण हुने टिभी रियालिटी शो बिग बोसको सिजन १४ को प्रसारण यही शुक्रवारदेखि शुरु हुँदैछ । प्रतिस्पर्धीहरुका बारेमा अधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक नभए पनि नेपाली मोडल अञ्जली पनि प्रतिस्पर्धीका रुपमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय मोडलका रुपमा चर्चित अञ्जली हाल भारतको मुम्बइमा बस्दै आएका छन् ।
सन् २०१६ मा ल्याक्मे फेसन शो मा पनि सहभागी भएकी उनी टप–२० सम्म पुगेकी थिइन् । त्यसलगत्तै उनले थुप्रै अन्तर्राष्ट्रिय शो र ब्राण्डका लागि मोडलिङ गरिसकेकी छिन् ।
उनले अन्तर्राष्ट्रिय स्तरमा जीक्यू पत्रिकाले सोसल चेन्जर स्टाइल अवार्ड दिएको थियो । यस्तै उनी ग्रासिया मिलेनियल अवार्डमा मोडल अफ द इयर घोषित भएकी थिइन् । लामाले भोग मोडल अफ द इयर अवार्ड समेत पाइसकेकी छिन् ।
बिग बोस सिजन १४ मा अञ्जलीसँगै भारतीय ग्ल्यामर क्षेत्रका परिचित अनुहारहरु प्रतिस्पर्धीका रुपमा ९० दिन घरभित्र रहनेछन् । कार्यक्रमको सञ्चालन यसपटक पनि अभिनेता सलमान खानले गर्दैछन् ।


