भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्व अध्यक्ष एन श्रीनिवासनले आफूले विगतमा महेन्द्रसिंह धोनीको कप्तानी पद जोगाएको खुलासा गरेका छन् । भारतीय क्रिकेटका सफल कप्तान धोनीले शनिबार लामो समयदेखिको अन्योल चिर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए ।
धोनीलाई सन् २०११ मा कप्तानी पद जोगाउन छनोट समितिले ल्याएको प्रस्ताव बीसीसीआई अध्यक्षका रूपमा ‘आफ्नो सबै अधिकार’ प्रयोग गर्दै उल्टाइदिएको श्रीनिवासनले खुलासा गरेका हुन् । भारतले धोनीको कप्तानीमा घरेलु मैदानमा २०११ को विश्वकप उपाधि जितेको थियो । तर त्यही वर्ष इंग्ल्यान्ड र अस्ट्रेलियामा भएको टेस्ट शृंखलामा समान ४–० को पराजयपछि धोनीको कप्तानी पद धरापमा परेको थियो ।
विशेष गरी अस्ट्रेलियामा भारतले भोगेको हारपछि राष्ट्रिय छनोट समिति त्रिकोणात्मक शृंखलाको एकदिवसीय टोलीमा नयाँ कप्तान चाहिने निष्कर्षमा पुगेको थियो । त्यहीअनुरूप निर्णय पनि गरेको थियो । यसैमा श्रीनिवासनले बीसीसीआई अध्यक्षका रूपमा आफ्नो अधिकार प्रयोग गरेका थिए ।
त्यो समयमा बीसीसीआईको विधानअनुसार छनोट समितिले प्रस्ताव गरेको निर्णयलाई अध्यक्षले अनुमोदन गर्नुपर्ने थियो । श्रीनिवासनले यही अधिकार प्रयोग गरेर छनोट समितिको प्रस्ताव हस्तक्षेप गरेका थिए । सो समयमा धोनीको स्थानमा अर्का कप्तान छनोट गरिएको थियो कि थिएन भनेर खुलाइएको छैन । तर श्रीनिवासनले आफ्नो अधिकार धोनीलाई कप्तानमा यथावत् राख्न मात्र प्रयोग गरेको बताएका छन् ।
‘यो २०११ को कुरा हो, भारतले विश्वकप जितेको थियो । त्यसपछि अस्ट्रेलियामा हामीले राम्रो गर्न सकेनौं । छनोट समितिका एक सदस्यले धोनीलाई एकदिवसीय कप्तानबाट हटाउन चाहन्थे,’ श्रीनिवासनले इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘तर उनलाई एकदिवसीयको कप्तानीबाट कसरी हटाउन सकिन्थ्यो र ? उनले २०११ मै भारतलाई विश्वकप उपाधि दिलाएका थिए ।
छनोटकर्ताले उनको स्थानमा कसलाई कप्तान बनाउने भन्ने सोचेका पनि थिएनन् । औपचारिक बैठकअगाडि धोनीको कप्तानीबारे छलफल भइरहेको थियो, त्यसमा मैले उनी कप्तानबिना खेलाडी नरहने जनाएको थिएँ ।’
उनले अगाडि भनेका छन्, ‘वास्तवमा म बिदामा थिएँ, गल्फ खेलिरहेको थिएँ । त्यतिखेर सञ्जय जगदले बीसीसीआई सचिव थिए । उनले मलाई छनोट समितिले कप्तान छनोट अस्वीकार गरिरहेका र उनीहरूले धोनीलाई खेलाडीका रूपमा मात्र राख्न चाहिरहेको बताए । म आएँ अनि एमएस धोनी नै कप्तान हुन्छ भनिदिएँ । मैले बीसीसीआई अध्यक्षका रूपमा रहेको सबै अधिकार प्रयोग गरिदिएँ ।’
श्रीनिवासनले त्यसै विषयलाई अहिले पुष्टि गरेका छन्, जसको त्यतिखेर कप्तानी परिवर्तन हुन लागेको बारे धेरै अनुमान लगाइएको थियो । श्रीनिवासन बीसीसीआईका अध्यक्षका साथै इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोलीका मालिक पनि थिए । धोनी त्यसको पनि कप्तान थिए ।
अर्को हिसाबले अनुमान त्यतिखेर मोहिन्दर अमरनाथलाई छनोट समितिबाट बर्खास्त गरिएपछि अनुमान लगाइएको थियो, जबकि उनी क्रिस श्रीकान्तको स्थानमा छनोट प्रमुख भएर आउनेक्रममा थिए । अमरनाथले त्यतिखेर धोनीलाई कप्तानीबाट हटाउनुपर्ने आवाज उठाएका थिए । अमरनाथसँगै भारतीय टोलीबाट खेलेका सन्दीप पाटिललाई पछि छनोट प्रमुख बनाइएको थियो ।
अमरनाथले पनि ८ वर्षअघि यस प्रकरणको उद्घोष गर्दै बीसीसीआई अध्यक्ष श्रीनिवासनले धोनीलाई कप्तानीबाट हटाउन खोज्दा हस्तक्षेप गरेको जनाएका थिए । अमरनाथले युवा खेलाडीलाई नयाँ कप्तान बनाउन लागिएको पनि जनाएका थिए । ‘हामीले त्रिकोणात्मक शृंखलाका लागि १७ खेलाडी छनोट गरेका थियौं । तर कप्तान छानेका थिएनौं,’ अमरनाथले भने, ‘कप्तान अरू कसैले छानेका थिए ।’
श्रीनिवासनले जति चाहियो त्यति धोनीले चेन्नईबाट आईपीएलमा खेल्न सक्ने बताएका छन् । धोनीले आफ्नो अन्तर्राष्ट्रिय संन्यास चेन्नईबाटै गरेका थिए । चेन्नईसँगै अहिले धोनी प्रशिक्षण सिविरमा छन् । यस वर्षको आईपीएल खेल्न उनी यूएई लाग्दैछन् । ‘उनले जति चाह्यो त्यति चेन्नईबाट खेल्न सक्नेछन्,’ श्रीनिवासनले भनेका छन्, ‘अहिले चेन्नईलाई आईपीएल जित्न दिऊँ । उनी म्याचभन्दा बाहिर केही सोच्दैनन्, चेन्नईको सफलताको कारण यही हो । उनले कहिले अस्वीकार गरेनन् र हामी त्यही पथ पछ्याइरहेका छौं ।’
यसै महिनाको सुरुवातमा चेन्नईका प्रमुख कार्यकारी प्रमुख कासी विश्वनाथनले कम्तीमा दुई वर्ष धोनीले आफ्नो फ्रेन्चाइज टोलीका लागि खेलिरहने विश्वास लिएका थिए ।



