आर्सनलले ब्राजिली मिडफिल्डर विलियनलाई ३ वर्षका लागि अनुबन्धित गरेको छ । चेल्सीसँगको सम्झौता सकिएपछि उनी खुला सरुवामार्फत इंग्लिस प्रिमियर लिगको अर्को टोलीमा पुगेका हुन् ।
चेल्सीले विलियनको सम्झौता नवीकरण गर्न प्रस्ताव पनि गरेको थियो । तर त्यो गनर्सले प्रस्ताव गरेभन्दा कम रकम रहेको थियो ।
‘उनी यस्ता खेलाडी हुन् जसले हाम्रो टोलीमा ठूलो फरक पार्न सक्छ,’ आर्सनलका व्यवस्थापक मिकेल अर्टेटाले भने, ‘एट्याकिङ मिडफिल्डर र विंगर क्षेत्रमा बलियो बनाउन खोजेकामा हामी स्पष्ट छौं ।’
चेल्सीले विलियनलाई सन् २०१३ मा रुसी टोली एनझी माखाचकलाबाट ३ करोड पाउन्डमा लिएको थियो । उनले टोलीबाट ३ सय ३९ खेलमा सहभागिता जनाएका थिए ।
उनले चेल्सीबाट दुई प्रिमियर लिग, एक युरोपा लिगसहित पाँच प्रमुख उपाधि जिते । चेल्सीको खेलाडीले छनोट गर्ने प्रकृयाबाट उनी दुई पटक वर्षको उत्कृष्ट खेलाडीमा चुनिए । गएको सिजनमा उनले ९ गोल गरेका थिए भने ७ गोलका लागि पास उपलब्ध गराएका थिए । त्यस हिसाबमा उनले चेल्सीबाट खेलेको यो सबैभन्दा उत्कृष्ट सिजन थियो ।
‘उनले खेल्दा धेरै विकल्प दिन्छन्, उनी ३–४ फरक पोजिसनबाट खेल्न सक्छन्,’ अर्टेटाले भने, ‘विश्व फुटबलको उनीसँग सबैखाले अनुभव छ । त्यसका साथै उनीसँग एउटा महत्त्वाकांक्षा छ र यस क्लबलाई त्यस स्थानमा लाने उद्देश्य छ, जहाँ यो क्बल विगतमा रहने गर्थ्यो । उनीसँग जति छलफल भए त्यसबाट म निकै प्रभावित छु र उनी यस क्लबमा आउन पाउँदा निकै उत्साही छन् ।’
आर्सनल गत सिजनको प्रिमियर लिगमा आठौं स्थानमा रहेको थियो । चेल्सी चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगलाई छनोट भएको थियो । तर आर्सनलले एफए कपको फाइनलमा लन्डन प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गरी युरोपा लिगका लागि छनोट भएको थियो । विलियनले चोटका कारण एफए कप फाइनल भने गुमाएका थिए ।
पछिल्लो समय चेल्सीबाट आर्सनल आउने उनी अर्का खेलाडी हुन् । गत अगस्टमा डेविड लुइज चेल्सीबाटै आर्सनल आएका थिए । ‘मलाई उनबारे लामो समयदेखि राम्रोसँग थाहा छ किनभने हामीले ब्राजिली टोलीबाट सँगै सहकार्य गरेका थियौं,’ आर्सनलका प्राविधिक निर्देशक इडुले भने, ‘एक व्यक्ति र एक खेलाडीका रूपमा उनीसँग धेरै विशेषता छन् ।



