गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण संघिय राजधानी २ साताको लागि अत्यावश्यकीय काम बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
उपत्यकाका ३ वटा जिल्ला प्रशासन कार्यालयले आइतबार अर्थात साउन २५ गतेदेखि २ साताको लागि अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई पनि सिल गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ । महाबौद्धमा शुक्रबारमात्रै ३ जना कोरोना संक्रमित भेटिएका थिए ।
बैठकले उपत्यका भित्र कुनै किसिमको सभा, गोष्ठी, सेमिनार गर्न नपाइने निर्णय गरेको छ । संक्रमणको जोखिम बढेको भन्दै नाकाहरूमा समेत थप कडाइ गर्ने निर्णय भएको छ ।
प्रशासनको निर्णय अनुसार जोरबिजोर प्रणालीलाइ पनि कडाइका साथ लागु गरिने छ । उपत्यकामा मास्कको प्रयोग नगर्नेप्रति प्रशासन कडा रुपमा प्रस्तुत हुने निर्णय भएको छ ।




















