गोरखा समाचारदाता
गोरखा – गोरखामा आज पुनः थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब गोरखामा कोरोना संक्रमितको संख्या ११६ जना पुगेको छ ।
संक्रमितहरु गोरखा नगरपालिका ९ को लक्ष्मी बजारमा आमा सहित २ छोरा गरि ३ जनामा संक्रमण पुष्टी भएको छ । उनीहरु गएको साउन २० गते संक्रमित महिलाको छिमेकी भएको पुष्टी हुन आएको छ ।
संक्रमित महिलाको कन्ट्याक ट्रेसिङ मार्फत स्वाब लिएर पिसिआर परिक्षण गर्दा ३२ बर्षकी महिला र ७ र १० बर्षका बालकहरु कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
सदरमुकामको लक्ष्मी बजारमा साउन २० गते २४ बर्षिया महिलामा कोरोना देखिए पछि उनको सम्र्पकमा आएका ५० जनाको स्वाब संकलन गरिएको थियो । जस मध्ये ४१ जनाको अहिले सम्म नेगेटिभ रिर्पोट आएको र बाँकी ९ जना मध्ये आज ३ जनाको रिर्पोट पोजेटिभ आएको छ । अझै ६ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता जिल्लाको आरुघाट गाउँपालिका ९ आरुघाट बजारघर भएका १ जना पुरुषलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । भारतीय सेनामा जागिर खाने ४६ बर्षिय उत्त पुरुष घर बिदामा साउन १७ आरुघाट आएर साउन १९ गते बिहानबाट पालिकाले निर्माण गरेको भिमोदय क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्दै आएको पालिकाका स्वास्थ्य प्रमुख बिजय श्रेष्ठले बताए ।
कोरोना संक्रमित सबैलाई गोरखा अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको छ ।




















