गोरखा समाचारदाता
काठमाण्डौं – लेबनानको राजधानी बेरुतमा हिजो भएको भयानक विष्फोट असुरक्षित रुपमा राखिएको अमोनियम नाइट्रेटका कारण भएको पुष्टी भएको छ ।
राष्ट्रपति माइकल आउनलेका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो ।
उक्त भयानक विष्फोटमा परि अहिले सम्म १३५ जनाले ज्यान गुमाई सकेका छन् भने ४ हजार भन्दा बढी मानिस घाईते भएका छन् ।
लेबनान सरकारले विष्फोटको अनुसन्धान थालेको छ । जसका लागि बन्दरगाहमा खटिएका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ । हिजो भएको विष्फोट बन्दरगाहमा भएको थियो ।
विष्फोट आवाज २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । धेरै टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको संज्ञा दिएका छन् ।
दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको उनीहरुले बताएका छन् ।


