गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण आज संघिय राजधानी काठमाण्डौं र मोरङमा गरी ३ जनाको ज्यान गएको छ ।
काठमाडौको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सर्लाही ६ की ६५ बर्षिया महिला १ जना र मोरङ रंगेली ८ का ४५ वर्षीय पुरुष र विराटनगर ९ का ४५ वर्षीय पुरुष गरि ३ जनाको ज्यान गएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६३ पुगेको छ ।
संघिय राजधानी काठमाण्डौंमा ज्यान गुमाएकी महिलालाई मनमोहन अस्पतालबाट साउन १६ गते सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएकी भएको हो । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।
उता मोरङमा संक्रमण देखिएका रंगेली ८ का ४५ वर्षीय पुरुष र विराटनगर ९ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको पुष्टी भएको छ । कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो ज्यान गएको थियो भने रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल आईनपुग्दै ज्यान गएको थियो ।
दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको कोशी अस्पतालले जनाएको छ । रंगेली ८ का ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान अस्पताल ल्याइएको थियो । चिकित्सकहरुले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।


