गोरखा समाचारदाता
चितवन – सैनिकको कुटपिटबाट ज्यान गएको भनिएको राजकुमार चेपाङको शव आज उनका आफन्तले बुझेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि गंभिर घाईते भएका चेपाङलाई ७ गते भरतपुर अस्पताल भर्ना गरिएकोमा उनको सोही साँझ ज्यान गएको थियो ।
साउन १ गते राप्ती नदीमा माछा मार्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङ सहित ५ जनालाई सेनाले कुटपिट गरेको आरोप लागेको छ ।
राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर आज बिहान चितवन ल्याइएको नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङले बताए । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शव बुझेको हो ।
चेपाङको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको थियो ।
सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याउने, चेपाङको छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक सवै कुरा उपलब्ध गराउने, मृत्तकको परिवारलाई राहतस्वरूप १० लाख उपलब्ध गराउने भए पछि उनको परिवारले राजकुमारको शव बुझेको बैठकमा सहभागी नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए ।
मृतक राजकुमारको चेपाङ संस्कार अनुसार आजै गड्यौलीमा अन्त्येष्टि गरिको छ ।


