गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्ला कोरोना संक्रमण मुक्त हुने अवस्थामा पुगेको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित ६ जनालाई डिस्चार्ज गरे पछि जिल्ला कोरोना संक्रमण मुक्त हुने भएको हो ।
जिल्लामा हाल सम्म १०७ जनामा कोरोना संक्रमण देखिएका मध्ये १०० जना कोरोना जितेर घर फर्किसकेका छन् । उनीहरुको गोरखा अस्पताल, गोरखा क्याम्पस र मकैसिङ प्रार्थमिक स्वास्थ्य केन्द्रमा उपचार गरे पछि विभिन्न प्रयोगशाला बाट पिसिआर रिर्पोट नेगेटिभ आए पछि घर फर्काइएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
जिल्ला सदरमुकाममा रहेको क्वारेन्टाइन सहितको आइसोलेसन केन्द्र गोरखा क्याम्पसमा विभिन्न पालिकाबाट ल्याईएका ६१ जना मध्ये ५९ जना सफल उपचार पछि घर फर्किएका हुन् । २ जना भने विभिन्न मितीमा गोरखा अस्पतालमा रहेको आइसोलेसन कक्षमा सारिएको थियो ।
त्यस्तै गरी गण्डकी गाउँपालिकाको मकैसिङमा रहेको आइसोलेसनमा उपचाररत ५ जनालाई पनि कोरोना संक्रमण नदेखिए पछि घर पठाईएको छ ।
यता सदरमुकाममा रहेको गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत ४१ जना मध्ये ३४ जनालाई सफल उपचार पछि घर पठाई सकिएको छ । जस मध्ये २९ जना पुरुष र ५ जना महिला रहेका छन् । १ जनाको भने उपचारको क्रममा ज्यान गएको थियो ।
अब गोरखा अस्पतालमा उपचाररत ६ जना रहेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु मध्ये पनि केही संक्रमितको पिसिआर रिर्पोट नेगेटिभ आई सकेकोले केही दिनमा नै उनीहरुलाई डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी ढकालले जानकारी दिए । ‘आइसोलेसनमा उपचार गराई रहेका मध्ये केहीको पिसिआर रिर्पोट नेगेटिभ आईसकेको छ । हामी उनीहरुलाई घर पठाउने तयारीमा छौ’ ढकालले भने ।



