गोरखा समाचारदाता
गोरखा – गोरखाको मनकामनाकी ७२ बर्षिया बृद्वाको हत्या आरोपमा १ जना युवक पक्राउ परेको छ ।
खेतमा पानी लगाउन गएकी कृण्णकुमारी आलेलाई हत्या गरी खोल्सीमा फालेको आरोपमा प्रहरीले आज स्थानीय हुकमान चुमी मगरलाई पक्राउ गरेको हो ।
उनलाई शहिदलखन गाउँपालिका ३ को करनटार क्षेत्र स्थित एक घरबाट पक्राउ गरिएको हो । लुकिछिपी बसेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई आज (आईतबार) दिउसो पक्राउ गरेको हो ।
साउन ९ गते शुक्रबार आलेलाई मनकामनाको हटिया क्षेत्रको खोल्सीमा स्यालाले छोपेर राखेको अवस्थमा उनको मृत्त शरिर फेला परेको थियो । शरिरको विभिन्न भागमा घाउचोट देखिए पछि प्रहरीले हत्या आशंकामा अनुसन्धान थालेको थियो ।
बिहीबार खेतमा पानी लगाउन गएकी उनी राती अवेरसम्म पनि नफर्किए पछि परिवारले खोजविन गरेको फेला नपरे पछि मनकामना प्रहरीमा खबर गरेका थिए ।
चुमी मगरलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भई रहेको छ । पक्राउ परेको उनलाई सदरमुकाम ल्याई सकिएको र थप अनुसन्धान थालिएको छ ।



