गोरखा समाचारदाता
बागलुङ – बागलुङको निरहेमा सुख्खा पहिरोमा खस्दा टिपर र ट्याक्टर चालक बेपत्ता भएका छन् ।
जिल्लाको बागलुङ नगरपालिका १ निरहेस्थित रामरेखा सामुदायिक वन क्षेत्रमा सडकका लागि आवश्यक ग्राभेल निकाल्दै गरेको अवस्थामा सुख्खा पहिरो खसेको हो । सोही पहिरोमा परेर टिपर र ट्याक्टर चालक बेपत्ता भएका हुन् ।
पहिरोले स्काभेटर, ट्याक्टर र टिपर समेत पुरिएको छ । वेपत्ता भएका मध्ये ट्याक्टर र टिपरका २ जना रहेको बागलुङ प्रहरीले जनाएको छ ।
पहिरोमा नम्बर नखुलेको एक एस्काभेटर, ध. १ त ४०७ नम्बरको एक ट्याक्टर र ध. १ ख ४६३७ नम्बर टिपर पुरिएको हो । स्काभेटर चालक भने पहिरो खसेको देखेर भाग्ने क्रममा घाईते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पहिरो हिजो राती ८ः३० बजे खसेका र सोही पहिरोमा टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका हुन । बेपत्ताहरुको आज (आइतबार) बिहानै देखी खोजी कार्य सुरु गरिएको छ ।
पोखरा बागलुङ राजमार्ग अन्तरर्गत वाङगेचौरको सडक स्तरोउन्नतीको लागि ग्रावेल उत्खनन गरिदै आएको छ ।
घटना रातको समयमा भएकोले उद्धारमा कठिनाई भएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।


