गोरखा समाचारदाता
काठमाण्डौं – ‘इनफ इज इनफ’ले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल बिरुद्व अख्तियारमा उजुरी दर्ता गराएका छन् ।
नोबल कोरोना (कोभिड–१९)को बिषम परिस्थितिमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै ‘इनफ इज इनफ’ले मन्त्री पोखरेल र ढकाल बिरुद्व बुधबार मुद्वा दर्ता गराएका हुन् ।
सो समूहले ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध पनि अख्तियारमा मुद्वा दर्ता गराउदै निश्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन भनेको छ ।
अभियान्ताहरुले उजुरीमा उल्लेख गरिएकाहरुको फोन कल डिटेल तथा अन्य माध्यमबाट भएको सम्पर्कको आधारमा छानबिन गर्न माग समेत गरिएको छ । पिसिआर किट खरिद ठेक्कामा ठुलो कमिसनको चलखेल हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विज्ञको सम्पत्ति छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न उजुरीमा माग समेत गरिएको छ।
अभियान्ताहरुले स्वास्थ्य सामग्री खरिद प्रक्रियाको यथार्थ खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिक लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सत्य तथ्य जानकारीको माग पनि गरेको छ ।
यसअघि पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितताका भएको भन्दै अख्तियारमा उजुरीहरु परिसकेको छ ।




















