गोरखा समाचारदाता
गोरखा – गोरखा खैरेनी सडक खण्ड आज सुचारु गर्न नसकिने भएको छ ।
साना ठुला गरी २ दर्जन बढी स्थानमा पहिरो गएको र पहिरो पन्छाउन मेशिन नभएका कारण आज सडक सुचारु नहुने भएको हो ।
गोरखा देखी मझुवा देउराली सम्मको १२ किलो मिटर सडकमा २ वटा ठुला र अन्य सानातिना गरी २ दर्जन भन्दा बढी स्थानमा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ‘सबै स्थानको पहिरो पन्छाए पनि ८ किलो भन्ने स्थानमा ठुलो पहिरा गएकोले आजै पन्छान मुस्किल भएको’ जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव निरिक्षक मित्रलाल ढकालले बताए ।
दर्जनौ स्थानामा साना तिना पहिरो गएता पनि मुख्य सडकको ११ किलो बजारमा सडक माथिबाट आएको पानीले मुख्य सडक कटान गरेको र त्यहाँ ह्युम पाइप राखेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
मझुवा देउरालीबाट २ किलो मिटर गोरखा तर्फ आउने सडक खण्डमा पनि पहिरो खसेको र अहिले सम्म पन्छाउन सकिएको छैन । ८ किलो र २ किलोको पहिरो पन्छाउन भ्याए र दुवै तर्फबाट मेशिन लगाउन सकेको खण्डमा साँझ सम्म ८ किलोको पहिरो पन्छाउन सकिने ट्राफिक प्रहरी प्रमुख ढकालले जानकारी दिए ।
पहिरो गएको बिचको कुनै पनि स्थानमा सवारी नभएको समेत कार्यालयले जनाएको छ ।





















