गोरखा समाचारदाता
गोरखा – गोरखाको विभिन्न गाउँपालिकामा रहेको ५०० भन्दा बढी डकर्मीहरुलाई क्षमता अभिवृद्वि तालिम दिईएको छ ।
भूकम्प पश्चातको निजी आवास पुनःनिर्माणमा सामाजिक र प्राविधिक सहजिकरण गर्दै आएको युएनडीपिले डकर्मीहरुलाई तालिम दिएको हो ।
भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजना गोरखाले गोरखा र पालुङटार नगरपालिकामा र अजिरकोट, आरुघाट, गण्डकी, शहिदलखन, सिरानचोक र धार्चे गाँउपालिकामा बसोबास गर्ने स्थानिय डकर्मीहरुलाई तालिम प्रदान गरिएको परियोजनाका सूचना अधिकारी तारा ढकालले बताईन । ‘कोरोना संक्रमणको यो अवस्थामा परियोजनाले स्वास्थ्य सर्तकता अपनाउदै तालिम प्रदान गरिएको’ उनले बताईन ।
कोरोना संकटको अवस्थामा भौतिक दुरी अपनाई तथा राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरि तालिम दिएको परियोजनाको गोरखा शाखाले जनाएको छ । परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठका अनुसार तालिममा न्यूनतम मापदण्ड अपनाएर स्थानीयस्तरमा रहेका डकर्मीलाई नै तालिमदिइएको र तालिम मार्फत निर्माणाधीन अवस्थामा रहेका संकटासन्न भूकम्प प्रभावित घर धनीलाई प्राविधिक सहजिकरण गरिएको बताए ।
सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका अहिलेसम्म करिब ५ हजार स्थानीयस्तरका डकर्मीलाई तालिम दिइसकेको परियोजनाले जनाएको छ । परियोजनाले भुकम्प पश्चात निर्माणाधीन संकटासन्न घरमै गएर डकर्मी (मिस्त्री)लाई तालिम दिइने गरेको छ ।
तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इट्टाको गारो, सुधारात्मक विधि, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतका विभिन्न ढाँचामा भवन निर्माण गर्न सिकाइएको परियोजनाका वरिष्ठ इन्जिनियर सन्तोष लामाले बताए ।




