गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु अब सरकारी खर्चबाटै स्वदेश फर्किने भएको छ ।
अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै वैदेशिक रोजगारीका क्रममा बिदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारी खर्चमा स्वदेश ल्याउन लागिएको हो।
वैदेशिक रोजगार प्रवर्दधन कोषको रकमबाट बिदेशमा अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता ल्याउने सरकारले निर्णय गरेको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर हाल अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने अर्थ एवं सञ्चारमन्त्री डा.खतिवडाले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
सरकारले विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किन चाहने नेपाली नागरिकले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय यसअघि गरेको थियो । त्यसका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अप्ठेरोमा परेकालाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
त्यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने निर्णय समेत गरेको छ।


