गोरखा समाचारदाता
काठमाण्डौं – भारतको सीमा सुरक्षामा खटिएका गोरखाका १ जनाको ज्यान गएको छ ।
जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनामा रहेका गोरखाका सम्बर गुरुङको ज्यान गएको हो ।
शुक्रबार बिहान १ः०० बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङ घाईते भएका थिए । गुरुङको उपचारका क्रममा क्रममा ज्यान गएको हो ।
भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले गुरुङको मृत्युको पुष्टि गरे । प्रवक्ता आनन्दले दिएको जानकारी अनुसार ३६ वर्षीय गुरुङ आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको ज्यान गएको थियो ।


