गोरखा समाचारदाता
काठमाण्डौं – निकै बिवादमा आएकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । अब उनको साँसद पद समेत गएको छ ।
बैठकले गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय पनि गरेको छ ।
नेपालका नयाँ नक्सामा लिम्पियाधुरासहितको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राख्दै पार्टीको निर्देशन उल्लंघन गरेकी थिइन् ।
जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि संसदमा मतदान हुँदा गिरी बैठकबाटै बाहिरिएकी थिइन् ।
ह्विप उल्लंघन गरेको आरोपमा उनलाई पार्टीले गठन गरेको छानविन समितिले कारबाही गर्न सिफारिस गरेको थियो ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्व तथा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको समितिले हिजो कारबाहीका लागि पार्टीलाई सिफारिस गरेको थियो । गिरी समाजवादी पार्टीका तर्फबाट समानुपातिक खस–आर्य कोटामा सांसद बनेकी थिइन् ।


