गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल वायुसेवा निगमका क्याप्टेनसहित ६ जना चालक दलका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विदेशबाट नेपाली नागरिक बोकेर उडान भर्दै आएको उनीहरु कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु राजधानीको होटल सोल्टीमा बस्र्दै आएका थिए ।
उडानबाट आएर सिधै होटलमा पुगेर त्यहीँ बसेर अन्य गन्तव्यको उडान भर्दै आएका चालक दलका सदस्यमा कसरी कोरोना संक्रमण फैलियो अनुसन्धान भइरहेको छ ।
होटलमा बस्दा नियमित नाचगानसहित मनोरञ्जन गर्ने र होटलका कर्मचारीहरुसमेत नाचगानमा सहभागी हुने गरेको स्रोतले जानकारी दिएको छ । यसैबीच सोल्टी होटललाई सिल गरिएको छ ।
नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले जानकारी दिएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका बढेर गएको छ ।
नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ ।




















