एजेन्सी – चीनमा प्लेग रोग देखिएको छ ।
चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग संक्रमण पुष्टि भएपछि सतकर्ता बढाइएको छ ।
बायान्नुरमा प्लेग देखिएका व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था स्थित रहेको बताइएको छ । उनी गोठाला भएको बताइएको छ । उनलाई कसरी संक्रमण भयो भन्ने खुलेको छैन ।
सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन् । प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लगाइएको छ । संक्रमण भएको शंका लागेमा सूचित गर्न सर्वसाधारणलाई चीन सरकारले आग्रह गरेको छ ।
ब्याक्टेरियाको संक्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार भने सम्भव हुने गर्दछ ।
सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो । गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा पनि २ जनाको प्लेगवाट ज्यान गएको थियो ।
ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुने विज्ञहरुले बताएका छन् । चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै ५ करोड मानिसको ज्यान गएको थियो ।
१९सौँ शताब्दीमा १ करोड २० लाखभन्दा बढी मानिसको प्लेग रोगका कारण ज्यान गएको थियो ।


