गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालको आइसोलेशनमा उपचारत थप ४ जनालाई डिस्चार्ज गरिएको छ ।
अस्पतालले आज एक विज्ञप्ती जारी गर्दैै अस्पतालको आइसोलेशनमा उपचारत शहिद लखन गाउँपालिकाका ४ जनालाई डिस्चार्ज गरिएको हो । यो सहित गोरखा अस्पतालबाट कोरोना रोग लागेर उपचार पछी घर फर्किने २७ जना पुगेको छ ।
आज डिस्चार्ज गरिएकाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिटल अस्पताल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर रिर्पोट नेगेटिभ आउनुकासाथै अस्पतालको आइसोलेशनमा १४ दिन उपचार गरेर घर पठाईएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
आज घर फर्किनेहरुमा शहिद लखन गाउँपालिका ८ का ५४, २७, ३८ र ३१ बर्षका पुरुषहरु रहेको विज्ञप्तीमा भनिएको छ ।
अब गोरखा अस्पतालमा ६ जना कोरोना संक्रमितले उपचार गराईरहेका छन् ।
यस अघि पनि गोरखा सदरमुकाममा जिल्ला कमाण्ड पोष्टले निर्माण गरेको गोरखा क्याम्पसको आइसोलेशनबाट ३ जनालाई डिस्चार्ज गरिएको थियो ।





















