एजेन्सी – बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ । उनको मुम्बईको गुरू नानक अस्पतालमा उपचारको क्रममा गएराति ७२ वर्षको उमेरमा निधन भएको हो । उनी जुन १७ मा अस्पताल भर्ना भएकी थिइन् । उनको कोरोना भाइरस परीक्षण भने नेगेटिभ आएको थियो ।
बलिउडमा झण्डै चार दशक काम गरेकी सरोजले चार हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन् । सरोजले नृत्य निर्देशन गरेको देवदास फिल्मको ’डोला रे डोला’, तेजाबको एक दो तीन र जब वी मेटको ए इश्क हाय लगायतका निक्कै चर्चित मानिन्छन् ।
उनले अन्तिमपटक कंलक चलचित्रको तबाह हो गई गीतमा कोरियोग्राफी गरेकी थिइन् । नृत्य निर्देशनमा तीन पटक उनले राष्ट्रिय अवार्ड जितेकी छिन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतमा निर्देशन शुरु गरेकी थिइन् ।




















