गोरखा समाचारदाता
गुल्मी – गुल्मीमा गएराती पहिरो जादाँ २ जना बेपत्ता भएका छन् भने १ जनाको जिवितै उद्वार गरिएको छ ।
जिल्लाको इस्मा गाउँपालिका १ को निस्ती ढाँडफाँटमा गएराति १२ बजे बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री सहित अन्य १ जना बेपत्ता भएका छन् ।
२८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको छ ।
पहिलो बस्तीभन्दा ५०० मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ लागेको गुम्मी प्रहरीले जनाएको छ ।


