गोरखा समाचारदाता
गोरखा – गोरखाको १४ किलो भन्ने स्थानमा नेपाली सेनाको गाडी र टिपर एक आपसमा ठ्रक्कर खादा ४ जना सेनाका जवान घाईते भएका छन् ।
गोरखा नगरपालिका ११ को १४ किलो भन्ने स्थानमा दुई सवारी एक आपसमा ठक्कर खादा सेनाका जवानहरु घाईते भएका हुन् ।
आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका ११ को १५ किलोमा सेनाको गाडीलाई टिपरले ठक्कर दिएको हो ।
आँबुखैरनी तर्फबाट गोरखा सदरमुकाम आउदै गरेको बा. १ झ ५८०० नम्बरको निसान गाडी र गोरखाबाट छेवेटार तर्फ जादै गरेको लु. १ त ३८४६ टिपर एक आपसमा १४ किलोको मोडमा ठक्कर खादा रण सिंह दल गणका ४ जना जवान घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनामा परी नेपाली सेना तर्फका सवारी चालक ईन्द्रबहादुर तामाङ सहित गाडीमा सवार प्रेम परियार, रञ्जित राना र सिताराम सिलवाल रहेका छन् । उनीहरुको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटनामा परी २ जना गंभिर घाईते भएकोले उनीहरुलाई थप उपचारको लागि जिल्ला बाहिर पठाउने तयारी भई रहेको गोरखा अस्पतालले जनाएको छ । दुवै जनाको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ ।
दुर्घटना लगत्तै फरार टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्बिर अनिल कुवर/गोरखा समाचारदाता























