गोरखा समाचारदाता
गोरखा – असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ ।
आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गर्दछन् ।
रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुने गर्दछन् ।
असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत यसले प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ ।
देशमा धान खेतीको लागि सिंचाई सुविधा कम उपलब्ध भएकाले मनसुन मै भर पर्नुपर्ने पस्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् ।
असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने संभावना कम हुने हुनाले पनि यो समयमा रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको १५ को महत्व भएको हो ।
लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ ।
रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ ।
रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यस्ले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ ।
एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यस्को उत्पादन भने कम हुन्छ ।
नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ ।
जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा आदि विकासे जातका धान लगाइन थालेको छ ।




















