सुर्खेत– सुर्खेतका युवा संगीतकर्मीहरुको सांगीतिक समुहले केही दिनयता सुर्खेतका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेकाहरुलाई नचाइरहेका छन् ।
क्वारेन्टिनमा सकारात्मक भावना बढाउन र उकुसमुकुस भएर बसेका मानिसहरूमा उत्साह थप्न सुर्खेतका दुई साङ्गीतिक समूह ब्लूम्ज ब्याण्ड तथा ज्यापर्स ब्याण्डका संगीतकर्मीहरुले क्वारन्टिनमै संयुक्त रूपमा सांगीतिक प्रस्तुति दिएका हुन् ।
कतिपय क्वारेन्टिनको अवस्था दयनीय भएको र मानिसहरूको अवस्था पनि निराशाजनक पाएको बताउँदै उनीहरूले नयाँ अनुभवले ऊर्जा थपेको बताएका छन् ।
निश्चित दूरी कायम गरेर आयोजना गरिएको उक्त प्रस्तुति प्राविधिक दृष्टिले कठिन भए पनि क्वारन्टिनमा मानिसहरू रहेसम्म यस्तो कार्यक्रमलाई निरन्तरता दिने ’मोटिभेशनल एन्ड म्यूजिकल थेरापी’ नाम दिइएको यस अभियानका आयोजक बताउँछन् ।
कार्यक्रममा सांगीतिक प्रस्तुती दिइरहेका गायक सुरज लामगादेले बीबीसी नेपालीलाई भनेका छन् – ‘उहाँहरु त अझै धेरै टाढाबाट दुःख पाएर, भोकभोकै आएको हुनुहुन्छ । हामी युवाहरुले सल्लाह गरेर एक पटक त्यहा जाउँ न, उहाँहरुसंग कुरा गरौं न, गीत–संगीतको कुरा गरौं न भनेर सल्लाह गरियो । सबै साथीहरु सकारात्मक भएपछि हामीले करिव २० मिटरको दुरी कायम गरेर प्रस्तुती दिन थाल्यौं । हाम्रो कार्यक्रम सकिंदा उहाँहरु पसिनाले भिज्नु हुन्छ। त्यसरी पसिना बगाउँदा उहाँहरु राती राम्ररी सुत्न सक्नु हुन्छ जस्तो लागछ । त्यो देखर हामीलाई खुशी लाग्छ ।’
आयोजक संस्थाकी सजना सुनार भन्छिन् – ‘जब हामी त्यहाँ पुग्छौं, उहाँहरुको अनुहारमा एक प्रकारको निराशापन, डर, चिन्ता देख्छौं । तर जब हामीले सांगीतिक प्रस्तुती दिन्छौं, त्यहाँको माहोल नै परिवर्तन हुन्छ । बृद्ध उमेरका बुवाहरु समेत नाच्न, गाउन थाल्नु हुन्छ । त्यो माहौल देख्दा हामीले राम्रो काम गरेका छौं जस्तो लाग्छ । यो एक प्रकारको उत्प्रेरणा जगाउने कार्य पनि हो । हामी यो अभियानलाई निरन्तरता दिइरहने छौं । हामीले क्वारेन्टिनमा सकारात्मक भावना बढाउन संगीत सहयोगी बनेको अनुभव गरेका छौं ।’
कार्यक्रम गर्न कठिन भए पनि यसले नयाँ उर्जा थपेको आयोजक समुहको अनुभव छ ।
यो भोलेन्टियर अभियानलाई आईडिया नेपालले सहयोग गरेको छ, जसमा ब्लूम्ज ब्याण्ड, ज्यापर्स ब्याण्डका संगीतकर्मीहरुको सहभागिता छ भने कर्णाली प्रदेशको नेपाल यूथ काउन्सिल, विक्रम साउण्ड सिस्टमको सहकार्य छ । कार्यक्रमलाई कर्णाली प्रदेशको सेल्फ डिफेन्स क्याम्पेन सेभ गर्ल्सले आयोजना गरेको हो ।


