गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा आयोजित एउटा कार्यक्रममा सहभागिहरुले रातीको समयमा ड्युटीमा हिड्ने प्रहरीको ब्यवहार राम्रो नभएको गुनासो गरेका छन । उनीहरुले प्रहरीले गर्ने ब्यवहारमा परिवर्तन गर्न समेत आग्रह गरका छन ।
समुदाय साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा सदरमुकामको लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको अन्तरक्रिया कार्यक्रम सहभागि अधिकाशं बिद्यार्थीहरुले त्यस्तो गुनासो गरेका हुन । उनीहरुले प्रहरीले गर्ने कतिपय व्यवहारबाट नागरिकहरुको प्रहरी प्रति हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै त्यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले समाजमा हुने अपराधीक घटना र त्यसको न्युनीकरण लागि बिधार्थीले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराएका थिए । प्रहरी उपरिक्षक अधिकारीले बालबिबाह, आत्माहत्या, बहुबिबाह, जवरजस्ती करणी जस्ता घटनाहरुको रोकथामका लागि सवै सचेत हुनुपर्नेमा जोडदिएका थिए ।
सार्वजनिक यातायातमा बिधार्थीहरुले छुट नपाएमा, क्याम्पस आवतजावत गर्दा वा कतै हिड्दा कसैले दुव्र्यवहार गरेमा, अभद्र व्यवहार गरेमा पनि त्यस्ता घटनाका बिषयमा प्रहरीलाई जानकारी दिन अधिकारीले अन्तरक्रियामा सहभागिहरुलाई अनुरोध गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले ट्राफिक नियम र सवारी दुर्घटना न्युनीकरण लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।




















