गोरखा समाचारदाता
गोरखा – जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले १०३ नम्बरको हट लाईन सुरु गरेको छ । अब सर्व साधारणहरुले यो नम्बर प्रयोग गरेर सवारी सम्वन्धी निशुल्क सूचना दिन सकिने कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यालयले १०३ नम्बरको हटलाइन सेवा शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिए । ट्राफिक प्रहरीले जिल्ला भित्र यातायात क्षेत्रमा हुने सवैखालका समस्या, गुनासा, सुझाव लिनका लागि हटलाईन सञ्चालनमा ल्याइएको हो ।
१०३ नम्बरमा आएका गुनासोहरुलाई जिल्ला भित्रका ७ स्थानमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टमा जानकारी गराई सेवा प्रवाह छिटो छरितो गर्न सहज हुने बि.कको भनाई छ । हटलाईन नम्बरमा एनटीसी एनसेल, सिडीएम, ल्याण्डलाइन लगायतका सवै टेलिफोन तथा मोवाईलबाट सम्र्पक गर्दा पैसा लाग्ने छैन ।
हटलाईनमा आएका गुनासाकाहरुको समाधानका लागि अस्थायी पोष्टमा तत्काल खबर गरी प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जानकारी गराएको छ ।




















