गोरखा समाचारदाता
गोरखा – भूकम्प गएको ५ वर्ष हुन लाग्दा समेत वस्ती स्थानान्तरण सकिएको छैन् । पुर्ननिर्माण प्राधिकरणले स्थानान्तरणको सूचीमा राखेका मध्ये हालसम्म ३५५ घर मात्र सुरक्षित स्थानमा सारिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) गोरखाले जानकारी दिएको छ । ‘ अधिकाशंको घर बनाउने सुरक्षित जग्गा नभएको होइन्, धेरैले आफ्नै अयन्त्रको जग्गामा घर बनाइसक्नुभएको छ’ इकाइका धिरेन्द्र आरसीले भने ‘घर भएको जग्गा बाहेक अन्य कुनै बिकल्प नभएका ५८ लाभग्राही हुनुहुन्छ उहाँहरुलाई छिट्टै स्थानान्तरणको प्रोसेस भइरहेको छ ।’
भूगर्भविद्हरुको सिफारिसका आधारमा प्राधिकरणले जिल्लाका कुल ५३२ लाभग्राहीलाई अयन्त्र सार्नुपर्ने निर्णय गरेको थियो । हालसम्म केरौंजा, बारपाक, सिद्र्धिबास र मुच्चोकका भूकम्प पिडितलाई अन्यत्र स्थानान्तरण गरिएको हो । यो सूचीमा लाप्राक र वगुवाका पिडितको नाम समावेश भएको छैन ।
उक्त दुबै स्थानमा एकिकृत नमूना बस्ती निर्माण हुने भएपनि त्यहाँका जोखिमयुक्त घरलाई स्थानान्तरणको सूचीमा समावेश नगरिएको प्राधिकरणले जनाएको छ । ‘बगुवामा जम्मा १२ घर सानुपर्ने अवस्था थियो, लाप्राकमा ६१६ घर जोखिमको सूचीमा नाम आएको छ,’ उनले भने ‘दुबै ठाउँमा एकिकृत बस्ती निर्माण भइरहेको छ । त्यहाँ हामीले केही गर्नुपर्ने अबस्था छैन् ।’
स्थानान्तरणका लागि बाँकी रहेका ५८ जनालाई पनि प्राधिकरणले दिएको समयसिमा भित्र सुरक्षित स्थानमा सारिसक्ने जिल्ला आयोजना कार्यान्वनय इकाईले दाबी गरेको छ । ‘टाइमलाईन भित्र सबैलाई सुरक्षित स्थानमा ल्याउने काम सकिन्छ’ उनले भने ‘अब धमाधम काम हुन्छ ।’ सरकारले जोखिमयुक्त बस्तीमा रहेका पिडितलाई घडेरी खरिद वापत २ लाख दिने निर्णय गरेको छ ।
भूकम्पपछि गएको पहिरोका कारण केन्द्रबिन्दु बारपाक, लाप्राक, केरौंजा लगायतका स्थानका सयौं घर विस्तापित भएका थिए । भूकम्प गएको लामो समय भइसकेकाले कतिपय स्थानमा जमिन पुरानै अबस्था फर्किसकेकाले पहिरोको जोखिम नरहेको विज्ञहरुले बताएका छन् । तर लामो समय भइसक्दा पनि पहिचान भएका लाभग्राही स्थानान्तरण गर्न नसक्दा उनीहरुले अनेक कष्ट भोग्दै आएका छन् ।




















