गोरखा समाचारदाता
गोरखा – चेम्बर अफ कमर्सले दोश्रो दशै सस्तो बजार मेलाको आय/व्यय सार्वजानिक गरेको छ । बुधबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आर्थिक विवरण सार्वजानिक गरिएको हो । ‘अघिल्लो वर्ष मेलाबाट हामीलाई ४ लाख भन्दा बढि घाटा भएको थियो’ अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने ‘यसपटक भने सन्तोजक अवस्था रह्यो केही नाफा गर्न समेत सफल भएका छौं ।’
गत वर्ष करिब चार लाख रुपैयाँ घाटा ब्यहोरेको चेम्बरले यस वर्ष एक लाख ६२ हजार खुद नाफा गरेको कोसाध्यक्ष शिशुबाबु प्रधानले जानकारी दिए । मेलाबाट ४८ लाख ६१ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको चेम्बरले र ४६ लाख ९८ हजार १७७ रुपैयाँ खर्च गरेको छ ।
आय मध्येको ७ लाख ५० हजार रुपैयाँ भने स्टलवालाहरुसँग उठाउन बाँकी रहेको उनले बताए । स्टलबाट सबै भन्दा धेरै २५ लाख, टिकटबाट १० लाख ८ हजार एक सय, मुख्य प्रायोजक सिप्रद्रि टे«डिङ हाउसबाट ५ लाख, विभिन्न प्रायेजक कम्पनीको २ लाख ५० हजार, बाल उद्यानको ३ लाख ५० हजार र निजि व्यापारीबाट ३५ हजार गरी उक्त रकम आम्दानी भएको हो ।
व्यय तर्फ भने भने सबै भन्दा धेरै १३ लाख ५५ हजार सास्कृतिक कार्यक्रममा खर्च भएको छ । यसैगरी खेलकुद मैदान व्यवस्थापनको लागि ६ लाख, स्टल निर्माण तथा स्टेजका लागि ४ लाख ९५ हजार, मेला प्रचारप्रसार खर्च १ लाख ३५ हजार ५ सय, झाकी प्रर्दशनीमा १ लाख ३०, साउण्ड सिस्टममा २ लाख ५० हजार, मायाँको चिनो १ लाख ५५ हजार, बिजेताको लागि स्कुटर खरिदमा २ लाख ५ हजार लगायत मुख्य खर्चका शीर्षक हुन ।
मेला अवधी भर काटिएको टिकटलाई गोला प्रथा मार्फत विजेता छनौट गरिएपनि हालसम्म कोही स्कुटर लिन नआएका आयोजकले जनाएको छ ।
मेलाको कुल ७८ हजार दर्शकले अवोलकन गरेको आयोजकले दाबी गरेको छ । ४७ टिकट काटेर मेला हेरेका छन्, भने अन्य अतिथि पाहुना, मेला आयोजक, व्यवस्थापक र कलाकार रहेको बताइएको छ । दोश्रो दशै मेलामा ८ करोडको कारोबार भएको आयोजकले दाबी गरेको छ ।
गोरखा सदरमुकामको हरमटारीमा रहेको खेलमैदानमा खेलकुद गतिविधी गर्न भन्दै नगरपालिका सँगको आर्थिक सहयोगमा फुटबल संघ गोरखाले स्तरोन्नती र घेराबार गरेको थियो ।
उक्त घेराबार भत्काएर मेला गरेपछि नगरपालिकाले काम भएको भुक्तानी रोक्न सक्ने भएपछि एन्फालाई चेम्बरले पाँच लाख दिने सहमती भएर मेला भएको हो । चेम्बरले मैदान पुरानै अवस्थामा ल्याएको उक्त पाँच लाख नगरपालिकाबाट आउने अपेक्षा गरेको महासचिव रामश्वरुप श्रेष्ठले बताए । स्कुटर लिन कोही नआए र नगरपालिका मार्फत रकम उपलब्ध भए अझै ८ लाख आम्दानी हुने गोरखा चेम्बर अफ कमर्सले बताएको छ ।
दशैँ अघि सञ्चालन भएको मेलामा च्याङ्ग्रा बिक्री, नुनु, चिनी मसला सस्तोमा बिक्री गर्दा उपभोक्ताले फाईदा लिएको दावी चेम्बरको छ । ‘यो मेलाले समग्र गोरखाबासीलाई नै फाइदा भएको हाम्रो विश्वास छ’ अध्यक्ष श्रेष्ठले भने ‘मेलाका कारण जिल्लाको चाडबाडको बेला सर्वसाधारणलाई सहज रुपमा दैनिक उपभोग्य वस्तु, लत्ता कपडा एकै ठाउँबाट खरिद गराउने उद्देश्यले गत वर्षदेखि चेम्बरले मेला गर्दै आइरहेको छ । आउँदो वर्षहरुमा पनि मेलालाई निरन्तरता दिने चेम्बरले जनाएको छ ।



